‘गणपति’ विश्वभर एकसाथ रिलिज हुने
दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन्।
काठमाडौं, भदौ २ : चर्चामा रहेको फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ बिश्व बजारमा प्रदर्शन हुने भएको छ। सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ बाट बिश्व बजारमा नेपाली फिल्म बक्स अफिस रिलिजको श्रीगणेश गर्ने तयारी गरेको छ।
नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन्। दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन्।
सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार इन्टरनेशनल राइट खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो। ‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १ मा प्रदर्शन हुने छ। मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेक्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ भने अन्य देशको प्रर्दशन मिति केही दिनमै तय हुने बताइएको छ।
सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल,प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अबधारणा र लगानीमा स्थापना गरिएको फिल्म बितरण कम्पनी हो। नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र लागीरहेको यो कम्पनीले निर्माणाधिन थुप्रै फिल्मको अन्तराष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ।
‘हामी कन्टेन्ट र मेकिङ हेछौं,’ ‘गणपति’ को बारेमा बताउदै पौडेल भन्छन्,‘कन्टेन्ट राम्रो लागेको र दर्शकले रुचि दिएको पाएकाले छोटो अबधिमै तयारीमा यो फिल्म प्रदर्शन गर्न लागेका छौ।’ सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन्। कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह रहेको फिल्म हरिबहादुर घलेले खिचेको हुन। फिल्मका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ।
बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन्। तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ।












