डिस्चार्ज भए कांग्रेस नेता चन्द्र भण्डारी
‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ, विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ।’
काठमाडौं, भदौ १ : नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन्। उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए।
‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ डा. नकर्मीले भने, ‘विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ।’ उनका अनुसार बाहिरी सङ्क्रमणबाट जोगाउन भण्डारीलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको छ।
नेता भण्डारीको पुनः मंगलबार घाउको ड्रेसिङ गरिनेछ । करिब ६ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनेका गत बुधबारमात्र छाला प्रत्यारोपण गरिएको थियो।
‘जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो । दागहरु निकालेर छाला प्रत्यारोपण गरिएको हो,’ उनले भने ।
उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्रा.डा. बिडी झा, प्रा.डा. शंकरमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की डा. प्रविन गिरी, डा. सुष्मा डंगोल, मोहनकृष्ण डंगोल र डा. प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सको टोली संलग्न थियो।
गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।











