जलवायु परिवर्तनको असर कम गर्ने नीति बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडाैं, भदाै १ : राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति नियम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले जलवायु परिवर्तन र यसले पुराएका असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गरि संघ प्रदेश र स्थानीय तहको सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकले वन संरक्षणमा भएका प्रगतिसँगै यसको सदूपयोग गर्दै कार्वन व्यापारबाट प्राप्त हुने सहयोगको सम्बन्धीत क्षेत्रमा नै खर्च गर्ने व्यवस्था मिलाउन वन मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले विश्व जलवायु सम्मेलन (कोप २८) मा प्रभावकारी सहभागीता लागि र नेपालका मुद्दाहरु विश्वसामू उठाउन र आपसी सहयोगहुने गरि तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए। त्यस्तै बैठकले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थीत उपयोगका लागि प्रभावकारी नीति एवं कानून लागू गर्न सुझाव दिएको सभापति पन्थले बताए।
बैठकमा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले नियम कानून र योजनाका अभावमा नेपालले जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताए। जलवायुका क्षेत्रमा अर्थमन्त्रालयले विदेशी निकायहरुबाट लिने सहायताको अन्तरवस्तु नमिलेका कारण खर्च हुन नसकेको उहाले बताउनुभयो। मन्त्री महतोले कार्वनका क्षेत्रमा काम गर्नका लागि जनशक्ति र प्रयोगशाला नभएका कारण नेपाल पछि परेको जिकिर गरे।
बैठकमा समिति सदस्यहरुले जलवायु परिवर्तनमा समयमा नै ध्यान दिन नसकेका कारण अहिले त्यसको असर देखिन थालेकाले गम्भीर हुनुपर्ने समय आएको धारण राखेका थिए।











