मुख्यमन्त्री थापाले ४ गते विश्वासको मत लिने

काठमाडौं, भदौ १ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने गरी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराए पनि उपसभामुख सिर्जना दनुवारले ४ गते १ बजेको बैठकमा पेस गर्न तोक लगाएको बताइएको छ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेस गर्न सूचना दिने व्यवस्था छ। १२८ को ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेस गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने उल्लेख छ। थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संवैधानिक व्यवस्थाअनुसार उनले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ।
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय रहेको छ। बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ। विपक्षमा भने एमालेका ३९ (उपसभामुखबाहेक) र राप्रपाका ६ सांसद छन्।












-(7)-1765197040.jpg)