विद्युत प्राधिकरणले सेयर निष्कासन गर्ने तयारी गरेको छ : कुलमान घिसिङ

काठमाडाैं, भदाै १ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सेयर निष्कासन गर्ने तयारी गरेको बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्राथमिक सेयर निष्कासनबाट संकलन गरिएको रकम ठुला जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने पनि बताए।
प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्यांकन गराइएको र क्रेडिट र रेटिङ गर्ने संस्था इक्रा नेपालले समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको उनले जानकारी दिए।
उनले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका लागि वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरणमा जोड दिएको बताए।
त्यस्तै घिसिङले अहिले मुलुकभरका ९८ प्रतिशत जनतामा विधुतको पहुँच पुगेको भन्दै आगामी दुई वर्षभित्रमा सत प्रतिशत जनतामा विधुतको पहुँच पुराउने लक्ष्यका साथ अघि बढेको जानकारी दिए।











