सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
उनीहरुको नाम नखुलाइए पनि पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।
काठमाडौं, भदौ १ : सुन तस्करी प्रकणमा संलग्न भएको आशंकामा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको नाम नखुलाइए पनि पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।
प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन्।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको जनाए।
गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ। सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ पुगेको छ।











