लम्पी स्किनबाट मरेका पशुचौपायाको क्षतिपूर्ति किसानलाई तत्काल उपलब्ध गराउन निर्देशन
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले कृषकको क्षति अनुसार प्राथमिकताका आधारमा तत्काल कार्यविधि तथा मापदण्ड स्वीकृत गरि राहत उपलव्ध गराउन र यसका लागि आवश्यक बजेट उपलव्ध गरउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
काठमाडाैं, साउन ३२ : प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लम्पी स्किन रोगबाट मृत्यु भएका पशु चौपायाको क्षतिपूर्ति स्वरुप उपलब्ध गराइने राहत तत्काल कृषकलाई उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले कृषकको क्षति अनुसार प्राथमिकताका आधारमा तत्काल कार्यविधि तथा मापदण्ड स्वीकृत गरि राहत उपलव्ध गराउन र यसका लागि आवश्यक बजेट उपलव्ध गरउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकले लम्पी स्किन रोगको दीर्घकालीन रुपमा पूर्ण नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने भ्याक्सीन स्वदेशमा नै उत्पादन गरि सवै किसानलाई सर्वसुलभ र सुपथ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।
त्यस्तै बैठकले लम्पी स्किन जस्ता संक्रामक रोगबाट सिर्जना हुने संकटको अवस्थामा तीन तहको सरकारबीच समन्वय गर्न अधिकार प्राप्त समन्वयकारी निकायको गठन गरि कार्यसम्पादन गर्न पनि सकारलाई निर्देशन दिएको छ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित भएको जानकारी दिए। १० लाख ८२ हजार १ सय ५९ पशु उपचार पश्चात् निको भएको र ४७ हजार ६ सय ४९ वटा पशु रोगका कारण मृत्यु भएको उहाले बताए।
उनले सचेतना बढाउने कामका साथै उपचारको व्यवस्था गरेका कारण संक्रमण क्रमश कम हुँदै गएको दावी गरे। बिभिन्न मुलुकबाट हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात गरेको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकेको उनले बताए। उनले क्षतिमा पूर्ण रुपमा क्षतिपूर्ति दिन नसकेपछि राहत दिनुपर्ने जोड रहेको जिकिर गरे।
बैठकमा समिति सदस्यहरुले नेपालमा लम्पी स्किन रोगको महामारी फैलिनुको कारणबारे अध्ययन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए। समिति बैठकले पशु चौपायामा लाग्ने लम्पी स्किन लगाएतका सरुवा रोग लागेका पशुहरुको मासु दुध खान नहुने बिषयमा जनमानसमा सुसूचित गराई मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न नदिन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन पनि दिएको छ।











