नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने ‘गुँला पर्व’ सुरु (तस्बिरहरू)
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्मकर्म गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो। नेपाल संवतअनुसार दशौँ महिनालाई गुँला भनिन्छ। यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ।
काठमाडाैं, साउन ३२ : नेवार समुदायका बौद्ध धर्मावलम्बीले चान्द्रमासअनुसार मनाउने एक महिने ‘गुँला पर्व’ बिहीबार सुरु भएको छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्मकर्म गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो। नेपाल संवतअनुसार दशौँ महिनालाई गुँला भनिन्छ। यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ।

राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्। झरीले रोगव्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको स्वयम्भुका पुजारी अशोककाजी बुद्धाचार्यले बताए।

गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ। गुँला पर्वको अन्तिम दिन अर्थात् भाद्र शुक्ल प्रतिपदाका दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एकमहिने व्रत समापन गरिन्छ।




















