Kathmandu Press

कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस् आएको बताए।
कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ।

करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते हुनुभएका उहाँको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो।

अस्पतालका प्लाष्टिक सर्जन प्रा डा शंकरमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको जानकारी दिए। भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपालआएका थिए।

नेता डा. भण्डारीको सर्जरीका लागि प्रा. डा. विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो। विशेषज्ञ टोलीमा डा. प्रदीपराज भण्डारी, डा तिम स्प्रौल, प्रा. डा. शंकरमान राई, डा. किरण नकर्मी, डा. विशाल कार्की, डा. अनुप सुवेदी, डा. प्रविण गिरी, डा. प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्याण्ड थेरापिष्ट मोहनकृष्ण डंगोल रहेका थिए।

सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस् आएको बताए। नेता भण्डारीलाई अहिले सघन उपचारकक्षमा राखिएको छ।

गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो।

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्