‘बोल्नकै लागि बोलेर मात्रै हुन्न, महिलाले आफूमा सक्षमताको विकास पनि गर्नु जरुरी छ’
यो कोटाको कुरा धेरै पहिलेदेखिकै समस्या हो। महिला संघको अध्यक्षलाई यतिसम्म कि जिल्लामा आसन ग्रहण पनि गराइँदैन। अर्को कुरा, अधिकारको कुरा गर्दैगर्दा कर्तव्य के हो भनेर पनि बिर्सनुहुँदैन।नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी अध्यक्ष हुन् उषा राउत मिश्र। सिरहा निवासी उनी यसअघि साेही संघकी सचिव थिइन्। २०४८ सालमा नेपाल विद्यार्थी संघ, सिरहाको संस्थापक जिल्ला सहसचिव, त्यसपछि जिल्ला उपाध्यक्ष, नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै उनी नेतृत्वमा पुगेकी हुन्।
उनी २०५० सालमा नेपाल पत्रकार महासंघ सिरहाको संस्थापक सभापतिसमेत भएकी थिइन्। विगतमा विभिन्न महिला तथा मानवअधिकार संघसंस्थामा समेत आबद्ध रही महिला समानता, अधिकार, सामाजिक न्यायका क्षेत्रमा काम गरेको अनुभव छ।
प्रस्तुत छ निरंकुशताविरुद्धको संघर्षबाट खारिँदै हाल पार्टीको विशेष भूमिकामा रहेकी महिला नेत्री राउतसँग काठमाडौं प्रेसका लागि यम विरहीले गरेको वार्तालापको सम्पादित अंशः
महिला संघ अध्यक्ष हुनुभएको एक वर्ष भयो, यसबीचमा के–कस्ता गतिविधि भए?
मलाई मौका दिनुभयो धेरैधेरै धन्यवाद। महिला संघ पार्टीको भगिनी संगठन भए पनि कताकता हामी ओझेलमा परेको हो कि भन्ने पनि थियो। कोभिडमा हामी तीन वर्ष बन्दकै अवस्थामा भयौं। अत्यन्त प्रतिकूल अवस्थामा थियौं। हाम्रो विधान नभएको अवस्थामा केमा टेकेर अधिवेशन गर्ने भन्ने थियो। यसका पछाडि धेरै कारण छन्। त्यतातिर नजाऔं। धेरै छलफलपछि आदरणीय पार्टी सभापतिज्यूले यत्तिको मान्छेले महिला संघ चलाउन सक्छ भनेर विश्वास गरेर मनोनीत गर्नुभयो। त्यसका लागि म आभारी छु। यसबीचमा मैलै सातवटै प्रदेशमा प्रशिक्षण गरें। दुई महिनाकै बीचमा सातवटा प्रशिक्षण सकाइएको छ।
अर्को कुरा, मेयर र उपमेयरलाई पार्टीले काठमाडौं बोलाएका बेला हामी पनि महिला मेयर उपमेयरलाई किन सम्मान नगर्ने, उहाँहरू स्थानीय तहको ठुलो खम्बा हो भनेर ‘ग्रान्ड’ कार्यक्रम गर्यौं। उहाँहरूलाई सम्मान गर्ने भने पनि अन्तरक्रियामार्फत हाम्रा विषयहरू बतायौं। हाम्रा हक, हित र सरोकारका विषयमा महिला संघलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल भयो। हरेक जिल्लामा महिला संघको कार्यसमिति नभएको अवस्था थियो। १०–१५ वर्षदेखि अधिवेशन नभएको अवस्था थियो। म जिल्लाका महिला दिदीबहिनीसँग नियमित सम्पर्कमा रहें।
अहिले टोखामा महिला संघको भवन बनाउँदैछौं। भदौबाट भवन बन्न सुरु हुन्छ। महिला संघको भवन बन्दै गर्दा दातृ संस्थाबाट एक रुपैयाँ लिँदैनौं भनेका छौं, जसले गर्दा भोलि महिला संघमा जोसुकै अध्यक्ष आए पनि ठाडो शिरले हिँड्न सकून्। फलानो एम्बेसीले दिएको पैसाले भवन बनाएको होइन भन्न सकून्। डोमिनेसन फिल नहोस्। यी समस्यामा म सचेत छु, तर मैले कति गर्न सक्छु, काम टिमले गर्ने हो। यसका अतिरिक्त महिला संघका साथीहरूलाई संगठित गर्दै केही एजेन्डा पारित गर्ने काम सम्पन्न भएका छन्। संघभित्र महिला सुरक्षाका लागि भनेर भिन्नै समितिहरू बनाएर कामहरू गरिएको छ। कामहरू क्रमिक रूपबाट अघि बढिरहेका छन्।
संगठनभित्र अलिकति विवाद र मतभेदका कुराहरू बाहिर आएका छन्, वास्तविकता के हो?
म पार्टी सभापतिज्युबाट मनोनीत भएर संघको नेतृत्वमा आउँदै गर्दा दुवै महामन्त्रीले ‘महिला संघमा भद्रगोल भएको छ, राजनीति भनेको रिक्स पनि हो। तपाईं अध्यक्ष भइसक्नुभएको छ। रिक्स लिएर काम गर्नुस्’ भनेर भनिरहेको अवस्था थियो। हाम्रो पार्टीको विधानले के भन्छ भने पार्टीको आफू बसेको पदभन्दा अर्को पदमा सदस्य भइसकेपछि अरू साना पदहरू स्वतः खारेज हुन्छन्। मैले महामन्त्रीज्यूहरूलाई ‘महिला दिदीबहिनीलाई बुथमा चुनाव हराइन्छ, अनेक कारणले। भएको एउटा जिल्ला अध्यक्ष पनि खोस्नुहुँदैन।
अधिवेशन गरौं, सरल ढंगले सेफ ल्यान्डिङ गरौं। नयाँ ऊर्जावान साथिहरू आउनुहुन्छ’ भनेकी थिएँ। खालि भएको जिल्लामा त अध्यक्ष तोक्ने अधिकार छ, मैले त्यो गर्छु तर टिम आएपछि भने रोकेर राखें। जिल्लामा अलिकति भद्रगोल पनि भयो। तर मेरो इन्टेन्सन बुझिदिनुपर्यो, मलाई ‘ट्रस्ट’ गर्नुपर्यो। यसको नियत गलत होइन भनेर केन्द्रीय समितिका ५३ जना साथीलाई सबै कुरा बुझाउन खोज्दा मैले तारिफ पनि पाएकी छु।
सहकार्यको कुरा गर्दैगर्दा पार्टी सभापति, महामन्त्रीहरू, पदाधिकारी सबैले मलाई ‘ल अघि बढ्नुस्, हामी सहयोग गर्छौं’ भन्नुभएको छ। पार्टीको नेतृत्वबाट यदि जिल्लाको अध्यक्ष छैन भने मैले तोक्दै गर्दा त्यहाँको पार्टी सभापति, केन्द्रीय नेतृत्वसँग सहकार्य गरेर काम गर्नुस् भनेपछि मैले उहाँहरूसँग सहकार्य र समन्वय गरेकी छु। झापाजस्तो जिल्लामा चारजना पाँचजना केन्द्रीय नेतृत्वहरू हुनुहुन्छ। चारतिर मुख फर्केको हुनुहुन्छ। विचार मिल्दैन। त्यो त उषा राउतले पार्टीभित्र झगडा लगाएको होइन नि
म धेरै त्यसतर्फ जान चाहन्न। त्यस्तोमा पनि म सहकार्य गरेर अघि बढेकी छु। मैले मंगलादेवी सिंहले संघमा धेरै काम गरेको देखेकी छु। कस्तो रफ्तार थियो। उहाँ थाक्नुहुन्नथ्यो। 'सुनचाँदीले लादिएर बस्नुहुँदैन। एक बारको जुनी हो काम गर्नुपर्छ' भनेर ऊर्जा दिनुहुन्थ्यो। त्यो बेला म युनिभर्सिटी पढ्दै थिएँ। त्यो ऊर्जा मलाई पनि आओस् दैव भन्थें मैले। उहाँको त्यो संघर्ष र त्यागबाट प्रेरणा लिएर कर्मक्षेत्रमा खटिएकी छु।
महिला संघका जिल्ला अध्यक्षहरूलाई बर्खास्त गरेको कुरा बाहिर आएको छ नि?
केही साथीले अहिले वितण्डा मच्चाउनुभएका छ। मैले १२ वटा जिल्लाको कुनै पनि अध्यक्षलाई बर्खास्त गरेको होइन। विधानका कारणले जिल्ला खाली हो। खाली भएकोमा अध्यक्षले बनाउन सक्ने निहित अधिकार छ। अध्यक्षले मनोमानी गरेको भन्ने होइन, छैन। मैले उमेरका आधारमा काम गर्न सक्दिनँ हजुर भनिसकेपछि पार्टीका जिल्ला अध्यक्षको सिफारिस, केन्द्रका नेताको सिफारिसका आधारमा निर्णय गरेकी हुँ। हेर्न चाहे मसँग प्रमाण छन्। मसँग भिडिओ क्लिपहरू सुरक्षित छन्। एउटा जिल्लामा कसैलाई बर्खास्त गरिएको होइन। यो मामिलामा म सचेत छु। बरु मलाई सुनुवाइको पनि मौका नदिई एकैचोटी पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाउने काम भयो। म त सहकार्य, संवादमा विश्वास गर्छु। सधैंका लागि यो पद होइन भन्न मलाई राम्ररी थाहा छ।
अझै पनि अरु जिल्लाको सिफारिस आउँदैछ, हामी तुरुन्तै जिल्ला कमिटी बनाउँछौं। तब मात्र अधिवेशन गर्न सकिन्छ। सातैवटा प्रदेशको संयोजक पनि म बनाउँदैछु। कसैले रोकेर रोकिन्न। लिंगरिङ गरेर महाधिवेशन हुन नदिने कुराप्रति म सचेत छु। मेरो यति मात्र आग्रह छ, पहिले एकपल्ट विधान पढेर काम गरिदिनुस्। अधिवेशन गराएर पो केन्द्रलाई जिम्मा लगाउनुपर्छ नि, होइन र? पार्टीको अस्तिको मिटिङले पनि ६ महिनाभित्र सबै भातृ संगठनको चुनाव गर्ने भनेको छ। अनि हाम्रो रफ्तार टुंगियो भने हामीले ती दिदीबहिनीमाथि अन्याय गरेको हुन्छ। संस्थामा बसेर अन्याय गर्न पाइन्छ? हामीले संगठनका लागि अझै धेरै गर्नु छ।
यो अवस्थामा भनेजस्तो गर्न सम्भव होला?
हिजो 'मंगला माँ' (मंगलादेवी सिंह) लगायत सहाना प्रधान, साधना प्रधान, शैलजा दिदी, नोना आमाहरूले महिलाका लागि अलिकति पनि बहस नछेडिदिएको भए हामीले यो गर्व गरेर ५० प्रतिशत भन्न सक्थ्यौं त? उहाँहरूले एउटा बाटो कोरिदिनुभयो। एउटा रेखांकन गरिदिनुभयो। त्यही बाटोमा हिँडेका त हौं नि, हामीले के गरेका हौं र? वर्षौं जेलजीवन बिताएर, सबै त्यागेर, आफ्नो घरपरिवार सिध्याएर राजनीति गरेर यो अवस्थामा ल्याइदिनुभएको हो नि। अहिलेका युवापिँढीहरू जो म नेता बन्न चाहन्छु भन्नुहुन्छ, जाे केन्द्रीय सदस्य वा एमपी चाहिन्छ भन्नुहुन्छ, उहाँहरू पाँच दिन पार्टीका लागि जेल बस्न तयार हुनुहुन्छ? ल पार्टीका लागि त्याग गर्न घरबार छाडेर आउनुस् त। हामी यसरी काम गरौं भनेर भन्नलाई कोही तयार हुनुहुन्छ? त्यो त्याग, तपस्या छ?
यसले गर्दा सिनियरहरूलाई सम्मान गर्दै, उहाँहरूले गरेको भूमिकालाई सराहना गर्दै अब कस्तो बनाउने भनेर हामीले गम्भीर छलफल चलाउनैपर्छ। गर्न सकिन्छ तर यो डरलाग्दो अवस्था पनि छ। अग्रजहरूले देखाएको बाटोमा हिँड्नुपर्ने छ। यहीबीचबाट अघि बढेर महिलालाई ‘स्टाब्लिस्ट’ (स्थापित) गर्न बहस छेड्नुपर्ने छ।
यी त भए आन्तरिक विषय। महिलालाई राज्यका निकायमा प्रतिनिधित्व गराउँदा कोटामा सीमित गरियो। चुनावको टिकट दिँदा पनि भेदभाव भयो भन्ने छ। सहभागितालाई कसरी व्यापक बनाउन सकिएला?
यो कोटाको कुरा धेरै पहिलेदेखिकै समस्या हो। महिला संघको अध्यक्षलाई यतिसम्म कि जिल्लामा आसन ग्रहण पनि गराइँदैन। अर्को कुरा, अधिकारको कुरा गर्दैगर्दा कर्तव्य के हो भनेर पनि बिर्सनुहुँदैन। पार्टीको केन्द्रीय समितिको बैठकमै पनि महिलाहरूका कुरा जुन रूपमा उठ्नुपर्ने हो, त्यसरी उठेनन्। आइडोलोजीका कुराहरू त्यहाँ उठ्नुपर्ने होइन? मुद्दाहरू उठ्नुपर्दैन?
अहिले हामीले पार्टीको पदाधिकारीमा सहमहामन्त्री मात्र पाएका छौं, त्यो पनि कोटा भएका कारणले। हामीले ५० प्रतिशत भनेका छौं। तर ३३ प्रतिशत पुर्याउन गाह्रो भइराखेको छ। यस्तो अवस्थामा केन्द्रीय सदस्यहरूले पार्टीको बैठकमा खबरदार एउटा महिला उपाध्यक्ष, एउटा महामन्त्री हुनुपर्छ भनेको भए त पुग्थ्यो होला नि त। ३३ प्रतिशतमा त्यहाँ पनि बहस सुरु हुनुपर्यो। अर्को पार्टीको कार्य सम्पादनमै पनि त ३३ प्रतिशत छैन नि त। अहिले मन्त्रिपरिषद्मै पनि ३३ प्रतिशत पुग्छ त? जो त्यहाँ हुनुहुन्छ, उहाँहरूले बहस चलाउनुपर्यो। महिला संघले के गर्न सक्छौं, हामी छलफल गर्न तयार छौं। अर्को कुरा, हामी आफैले पनि डिजर्भका लागि आफ्नो ‘स्किल’ र क्षमता पनि बढाउनु जरुरी छ। यस्ता विषयमा हरेक पार्टीभित्रैबाट गम्भीर छलफल चलाइनुपर्छ। बोल्नकै लागि बोलेर मात्रै केही हुँदैन।
दलीय संरचना नै महिलालाई समानुपातिकमा मात्रै सीमित गर्ने छ। यसले गर्दा दलित, सीमान्तकृत समुदाय, दुर्गम क्षेत्रबाट प्रतिनिधित्वका लागि ती क्षेत्रका पुरुषको प्रतिनिधित्वमा पनि अन्याय भइरहेको देखिन्छ के भन्नुहुन्छ?
हो, हामीले यस विषयमा निर्वाचन आयोगलाई पनि भनेका छौं। अहिले उहाँहरूले कानुनको ड्राफ्ट पनि बनाउनुभएको छ। विन्दा पाण्डेले ड्राफ्ट पाउनुभएको रहेछ। आठैवटा पार्टीका महिला संगठनका साथीहरू एकै ठाउँ बस्यौं। हाम्रो पार्टीबाट सहमहामन्त्री डिना उपाध्याय र एमालेबाट विन्दा पाण्डेसहित बसेर अब कसरी जाने भनेर छलफल गर्यौं। र, तुरुन्तै हामीले एउटा ड्राफ्ट बनाएर आयोगमा खबरदारी गरेको अवस्था छ। किनभने एकातिर समावेशीको कुरा छ अर्कातिर निर्वाचन क्षेत्र नै महिलाका लागि छुट्याउनुपर्ने भन्ने कुरा छ।
निर्वाचित भएर आएका सांसद र समानुपातिकमा बजेटमै पनि भिन्नता छ। महिलाका लागि निर्वाचन क्षेत्र नै छुट्याए पनि यो त आरक्षणबाट आएको भनेर त्यहीँ भेदभाव हुने अवस्था पनि आउन सक्छ। पोलिटिक्सभित्र हिंसा भन्ने कुरा विभिन्न किसिमले हुन्छ। यसलाई चिर्न सक्नैपर्छ। यस्मा पुनर्विचार हुनैपर्छ भनेर महिला संघले पनि आयोगलाई ज्ञापनपत्र बुझाएको छ। समावेशितामा टेक्निकल्ली नमिलेका कुरामा हामीले प्रेसर र खबरदारी गरिरहेका छौं।
महिलालाई चुनावमा टिकट दिँदा पनि बाहुबली नेतासँग भिड्ने गरी दिइन्छ, धेरै महिला प्रत्यक्षमा टिकट पाए पनि हारिराखेको अवस्था छ। यसमा अलि आवाज नपुगेको हो कि?
एकदम सही हो। ‘जेन्युन’ मान्छेले चुनाव हारेको अवस्था छ। टिकट दिँदा कसरी छुट्याइन्छ, म त अनुमान मात्र लगाउन सक्ने ठाउँमा छु नि त। भित्र बसेर मैले काम गरेक अवस्था छैन। फेरि नेपाली कांग्रेस मात्रै एउटा यस्तो पार्टी होला, जहाँ टिकट पाउन वडादेखि क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सिफारिस भएर आउनुपर्छ। तब मात्र काम लाग्छ। सुरक्षित ठाउँमा उषा राउतले टिकट खोज्दै गर्दा त्यहाँदेखिको सिफारिस काम नलाग्ने अवस्था पनि आउन सक्छ। हजारौंका बीच छानिएर आउनुपर्छ। त्यसै महासमिति, त्यसै महाधिवेशन होइन नि। त्यही भएर पनि हामी डेमोक्रेटिक पार्टीका हौं भनेर गर्व पनि त गर्छौं नि।
महिलाहरू खुला रूपबाट चुनावमा भिड्न सक्षम छन्?
हडल र अप्स्ट्याकलहरू छन्। तर बहस चलाउन सकिन्छ । यस्ता विषयलाई पार लगाउन सक्नुपर्छ। तर जित्न सक्ने क्षेत्र छन्, त्यहाँ अरू सबै पार्टीको उम्मेदवार कमजोर छन् भनेर हेर्न सक्ने इन्भाइरनमेन्ट त्यतिबेला हुँदैन। हामी त्यो सिस्टममा पनि छैनौं। भोलिपल्ट नोमिनेसन छ, अघिल्लो दिनसम्म टिकट फिक्स नहुने अवस्थामा कठिनाइ हुन्छ। फेरि सजिलो ठाउँमा टिकट लिँदैछ भनेपछि अर्को पार्टीबाट पनि एट्याक सुरु हुन्छ। संसदीय लोकतन्त्रको अभ्यासभित्र सबै कुरा ‘वेल म्यानेज्ड’ हुन त हामी सबै सचेत, शिक्षित नागरिक राजनीतिमा आउनुपर्छ। अनि मात्र हामीले कल्पना गरेको समाज बन्ला।
गुट, आफन्त, निकटतालाई च्याप्ने, चाकरी प्रथाले पनि महिलालाई अघि बढ्न अप्ठ्यारो छ नि त?
अब यी बहसहरू पार्टी मिटिङमा उठ्न थाल्नुपर्यो के। लगाएको लुगा मन परेन, चस्मा मन परेन, यो भएन झिनामसिना थाङने कुराहरू भन्छौं नि, यस्ता बहशहरू बन्द हुनुपर्छ क्या। कमसेकम लिडरहरूले बन्द गरून्। अघि नै भनियो, अहिले नेपाल महिला संघकै सन्दर्भ पनि हेर्नुस् न, फलानोले गरेको भएन, फलानोलाई बर्खास्त गर्यो। म त च्यालेन्ज गर्छु, बाह्रवटा जिल्लामा कहीँ पनि बर्खास्त गरिएको भए एक सेकेन्ड पनि महिला संघमा बस्दिनँ। म राजनीतिमा नैतिकता राखेर हिँडेकी मान्छे हुँ।
पार्टी र सरकारभन्दा बाहिर पनि महिलामाथि विभेद, हिंसा, अवहेलना, दुर्व्यवहारका बेथितिहरू छन्। नियन्त्रण गर्न राज्य अलिकति चुकेको अवस्था हो कि?
सरकारको ‘मेकानिज्म’को पनि कमजोरी छ। तर निराश भइहाल्नुपर्ने अवस्था पनि छैन। हाम्रो हातहातमा सूचना र समाचार भएर पनि यस्तो देखिएको पनि हुन सक्छ। कुनै बेला एसएलसीको रिजल्ट एक महिनापछि पुग्ने गाउँका मानिसहरू पनि हामी नै थियौं। तर आज त सबैका हातहातमा मोबाइल छ, इन्टरनेट छ, समाचारका माध्यम छन्। महिला हिंसा भएको हो। कानुन नभएको पनि होइन। तर पुरै निराश हुनुपर्ने अवस्था होइन। सरकारी ‘मेकानिज्म’लाई चुस्तदुरुस्त बनाउन हामीजस्तो भगिनी संगठनले पनि चासो दिनुपर्छ। अहिले त टोलटोलमा स्थानीय सरकार पनि त छन् नि! क्रमिक सुधार पनि भइरहेको छ? नभएको भन्ने र गर्न नसकिने भन्ने छैन है। सुधार पनि भएको छ। निरास हुँदा तुरुन्त मोटीभेसन हुन सक्ने नेपालीपन पनि छ। त्यो एकता छ। सचेत भयौं भने सुरक्षा संयन्त्र पनि छ। राज्यको त्यो ‘मेकानिज्म’लाई काम गराउन हामी पनि सचेत हुनुपर्छ।
२०६३ पछि जन्मेको बच्चा आज वयस्क भइसक्यो। तिनलाई जोड्न सकिएको छैन। युवायुवती विदेश पलायन भइरहेका छन्। उनीहरूमा वितृष्णा छ, यो गम्भीर चुनौतीलाई कसरी रोक्ने?
मलाई महिला संघमा आउँदै गर्दा यी विषयले जहिले पनि घच्घच्याइरहेका छन्। कसरी काम गर्ने होला? एउटा चिन्ताको विषय छ। छुट्टै नेसनल भोलियन्टर ग्रुप बनाएर केही अभियान नै चलाउनुपर्छ कि भन्ने सोच पनि छ। ताकि यो कामको सुरुवात कसले गर्यो भन्दा नेपाली कांग्रेसले भन्ने होस्। अहिले युवा नेताहरूले पुस्तान्तरणको कुरा गर्नुभएको छ, जसले म यति वर्ष पुगेपछि राजनीति गर्दिनँ भन्नुभएको छ । त्यस्तो होइन, देशले मागेको छ भने जीवन नै देशका लागि समर्पित गर्नुपर्छ। समय तोकेर हुँदैन। कहाँ गएर के हुन्छ हाम्रो जिन्दगी, हाम्रो आयु, समय हाम्रो हातमा छैन। सकेसम्म भावी पुस्ताका लागि, मेरो देशका लागि मेरो स्किल दिन तयार छु। एउटा भोलियन्टर ग्रुप या संस्था बनाएर काम गर्नुपर्ने अवस्था छ।
नेपाली कांग्रेसमै युवा नेतृत्वहरू हुनुहुन्छ। उहाँहरूले पनि यो पक्षमा विभिन्न सामाजिक क्षेत्रका लागि भनेर सहयोगका लागि सय जना खटाउन सक्ने हुनुपर्यो। यस्तो भोलियन्टियर संस्थाका लागि दिनमै एकजनाबाट एकएक रुपैयाँ उठाउन सक्यौं भने पनि कति करोड उठ्छ। यहाँ पैसाको समस्या हुँदैन। त्यो दिन सबै तयार हुनुहुन्छ। यसरी पार्टीमा मोबिलाइजेसन गरेर आकर्षण बढाउनुपर्यो क्या। हामी भगिनी संगठनलाई पनि यस्तो सेवामा लगाउनुपर्यो। यहाँचाहिँ महिलाको आवश्यकता छ, गर्नुस् भन्नुपर्यो। हामी पनि आइडिया दिन्छौं। पार्टीकै बैठकमा हामीलाई डाकेर कुरा सुनाउन पाएको भए झन् कति राम्रो हुन्थ्यो होला। टोलटोलमा गएर कुरा राख्न पाउने थियौं।
अब यस्ता जल्दाबल्दा विषयमा सातैवटा प्रदेशका प्रशिक्षणमा आइडिया निर्माण गर्न हामीले प्रबुद्ध व्यक्तित्वलाई बोलाएर लग्दैछौं। ताकि त्यहाँ पार्टीका नीति, सिद्धान्त, सदनमा उठाएका कुरा त्यहाँ सेयर होस्। हामीले आफ्नो ठाउँबाट प्रयास गरिरहेका छौं। तर फेरि पनि भगिनी संगठन त हौं नि भन्ने भइहाल्छ। तर यसो गर्नु अत्यन्त आवश्यक छ। यस्ता फ्रिलान्सर ग्रुपलाई पार्टीले आकर्षण गर्नुपर्छ। त्यो ठाउँ छ। जसले यहाँ मात्र होइन, विदेशमा गएर समस्यामा परेका युवायुवतीलाई छुट्टै डेस्क राखेर मद्दत गर्न सकोस्। हामीले दिन सक्नुपर्छ। अस्पतालमा समस्यामा परेका व्यक्तिलाई मात्रै पनि यसरी सहयोग गर्न सक्ने हो भने पनि पार्टीप्रति ठुलो आकर्षण बन्छ। जनतालाई ‘टच’ हुने काम गर्नुपर्यो। पदका लागि मात्र लडाइँ गरेर अब केही हुँदैन।