राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा उनीहरूबीच संसद अवरोधलगायत विषयमा छलफल भएको स्रोतले जानकारी दिएकाे छ।
काठमाडौं, साउन ३१ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा उनीहरूबीच संसद अवरोधलगायत विषयमा छलफल भएको स्रोतले जानकारी दिएकाे छ। राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच करिब एक घन्टा छलफल भएको छ।
भेटमा राष्ट्रपति पौडेलले लामा समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूका बीचमा विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राखेर एमालेले साउन १० देखि संसद अवरोध गर्दै आएको छ। प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन।
संसदको अवरोधबारे चासो राख्दै राष्ट्रपति पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साउन २५ गते भेटेका थिए।











