अनौपचारिक क्षेत्रका श्रमिक अब सामाजिक सुरक्षा काेषमा
अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागु हुँदैछ।
काठमाडौं, साउन ३१ : अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आजबाट सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको औपचारिक घोषणा गरे।
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।
वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण आज औपचारिक घोषणा गरिएको हो।
अनौपचारिक क्षेत्रका श्रमिक भन्नाले रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र, निर्माण क्षेत्रलगायतका श्रमिक तथा मजदुर पर्छन् ।यसअघि औपचारिक क्षेत्रमात्र सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्ति समेटिएका थिएनन्।











