कोशी प्रदेशका जेष्ठ सदस्य गयानन्द मण्डल बने राज्यमन्त्री
उद्धव थापा नेतृत्वको सरकारलाई विश्वासको मत पाउन सक्ने अवस्था आउन नदिन गठबन्धनले जेष्ठ सदस्य मण्डललाई राज्यमन्त्री बनाएको हो।
काठमाडाैं, साउन ३२ : कोशी प्रदेशसभाका जेष्ठ सदस्य गगानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री उद्धव थापाले मण्डललाई बुधबार कृषि राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
उद्धव थापा नेतृत्वको सरकारलाई विश्वासको मत पाउन सक्ने अवस्था आउन नदिन गठबन्धनले जेष्ठ सदस्य मण्डललाई राज्यमन्त्री बनाएको हो।
सभामुखबिहीन रहेको कोशी प्रदेशमा एमालेबाट उपसभामुख बनेकी सृजना दनुवारको राजीना दिए मण्डलले प्रदेश सभा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था आउने थियो। यस्तो अवस्थामा गठबन्धन सरकारले विश्वासको मत पाउने सक्दैन थियो।
साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ। तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाएका छन्।
उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने योजनासहित मण्डललाई गठबन्धनकाले राज्यमन्त्री नियुक्त गरेको हो।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक छन् ।
विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ सांसद छन्।











