कांग्रेसको पहिलो चरणको अभियान सकियो
साउन २० देखि ३० गतेसम्म कांग्रेसले आन्तरिक संगठन सुदृढिकरणका लागि अभियान सञ्चालन गरेको हो।
काठमाडौं, साउन ३१ : सत्तारूढ नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि साउन २० गते देखि सुरु गरेको दश दिने अभियान सकिएको छ। साउन २० देखि ३० गतेसम्म कांग्रेसले आन्तरिक संगठन सुदृढिकरणका लागि अभियान सञ्चालन गरेको हो।
सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरू काठमाडौं फर्कन थालेका छन्। पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भए नभएको एवम् स्थानीय सरकार र पार्टीबीचको सम्बन्धनजस्ता विषयमा सहजीकरण गर्नुका साथै केन्द्रमा प्रतिवेदन पेस गर्नेछन्।
पार्टीका सबै तहका बैठक राख्नुका साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरू छलफलपछि कांग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम तयार गरेको छ।











