प्रधानमन्त्री दाहाल सेप्टेम्बर १६ मा अमेरिका र चीन भ्रमणमा जाने
उनले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने र उतैबाट चीन जाने जानकारी दिए।
काठमाडौं, साउन ३० : प्रधानमन्त्री दाहाल आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जाने भएका छन् । मंगलबार बालुवाटारमा भएको सम्पादकहरूसँगको छलफलमा उनले यस्तो जानकारी दिएका हुन् ।
उनले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने र उतैबाट चीन जाने जानकारी दिए। प्रधानमन्त्री दाहाल सेप्टेम्बर २१ मा चीन जाने छन्।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको उनले बताए।
चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्झौता हुने पनि उनले जानकरी दिए। भ्रमणमा बिआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव चीनसँग राख्ने बताए।
चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री दाहालले गराएका थिए।











