Kathmandu Press

एमालेलाई प्रधानमन्त्रीको प्रश्न– बालुवाटारमा भएको संसद् खोल्ने सहमति बानेश्वर पुग्दा कसरी भंग भयो?

संसद् खुलाउनकै लागि आफू र सबै सत्तारुढ दलले प्रतिपक्षी दलसँग सहमति र सम्झौतासमेत गरेको तर बालुवाटार पुग्दा त्यो कसरी भङंग भयो भनेर आफू छक्क परेको प्रधानमन्त्री दाहालले सुनाए।
एमालेलाई प्रधानमन्त्रीको प्रश्न– बालुवाटारमा भएको संसद् खोल्ने सहमति बानेश्वर पुग्दा कसरी भंग भयो?

काठमाडौं, साउन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरूका बीचमा जेजस्ता सुकै विमति भए संसद अवरुद्ध गर्न नहुने बताएका छन्। मंगलबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधामन्त्री दहालले दलहरुबीचका विमतिको निकास निकाल्न पनि संसद् अवरुद्ध हुन नहुने बताए।

‘देशमा बाढी पहिरोको मौसम छ र जनतालाई राहत आदिका कुरा छन्, संसदमा लैजान ठिक्क पारिएका महत्वपूर्ण विधेयक छन्, अरु विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने छ तर संसद् अवरुद्ध गरेर कसरी हुन्छ ?,’ उनले भने, ‘जे सुकै होस् संसद् खुल्नुपर्छ र त्यहींबाट जनताका प्रतिनिधिले जनताका आवाज मुखरित गर्नुपर्छ।’

संसद् खुलाउनकै लागि आफू र सबै सत्तारुढ दलले प्रतिपक्षी दलसँग सहमति र सम्झौतासमेत गरेको तर बालुवाटार पुग्दा त्यो कसरी भङंग भयो भनेर आफू छक्क परेको प्रधानमन्त्री दाहालले सुनाए।

संसद खुलाउनकै लागि प्रमुख प्रतिपक्षी दललाई तीन वटा संसदीय समितिको नेतृत्व दिन आफूहरु तयार भएको उनले बताए। ‘संसारमा अन्यत्र कतै नभएको सत्तारूढ दलहरू प्रमुख विपक्षी दललाई संसदीय समितिमा तीन जना सभापति दिन सहमति भई त्यो दिएर संसद् खुलाउनकै लागि बालुवाटारमा सहमति गरेका थियौं,’ उनले भने, ‘तर त्यो सहमति बालुवाटारमा पुगेर किन र कसरी भंग भयो ? त्यो मलाई अहिलेसम्म थाहा छैन।’

प्रधानमन्त्री दाहालले विगतमा पनि लामो समय यसैगरी संसद् अवरुद्ध भएको प्रसंग उल्लेख गर्दै यसबाट कसैलाई फाइदा नपुग्ने र यस्ता क्रियाकलापले बरु संसदीय व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था ल्याउन सक्ने आशंका गरे।

‘यो उहाँहरूको कतै विगतको जस्तै संसद् विघटन गर्ने निरन्तरता त होइन?,’ एमालेप्रति लक्षित गर्दै उनले भने।

प्रधानमन्त्री दाहालले देशमा भइरहेका पछिल्ला सरकार विरोधी गतिविधि तथा संसद्मा देखिएको अवरोध आदिबाट गठबन्धनमा दरार पैदा गर्न खोजिएको बताए।

‘पछिल्लो समय मलाई त्यस्तै लाग्दैछ । कतैबाट पनि सरकारलाई निकास ननिस्कियोस् भन्ने ढङ्गबाट कुराहरू आउने गरेका छन् । तर मलाई लाग्छ गठबन्धनमा त्यस्तो कुनै असजिलो छैन । सरकारले काम गरिरहेकै छ,’ उनले भने।

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्