‘सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ’
‘यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुको सट्टा झन संसद् अवरुद्ध गरेको छ, यसरी संसद् रोकिएको छ कि मानौँ सरकारले सुन पक्राउ गरेर कुनै गल्ती पो गरेको हो कि?’
काठमाडौं, साउन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताएका छन्।
बालुवाटारमा सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले सुन पक्राउ प्रकरण सरकारको सुशासनको प्रतिबद्धताको पछिल्लो उदाहरण भएको बताए।
‘त्यतिका धेरै सुनलाई तस्करले विमानस्थलबाट बाहिर ल्याएर लाने क्रममा सरकारले पक्राउ ग¥यो, कैयौं मानिस पक्राउ परेका छन् र अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुको सट्टा झन संसद् अवरुद्ध गरेको छ, यसरी संसद् रोकिएको छ कि मानौँ सरकारले सुन पक्राउ गरेर कुनै गल्ती पो गरेको हो कि?’
एमालेले केही दिनयतादेखि संसद् अवरुद्ध गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले एकपछि अर्को गरी भ्रष्टाचारका काण्ड सार्वजनिक गरी सुशासनको प्रत्याभूति दिने गरी काम गरिरहेको स्पष्ट रहे पनि त्यसलाई अनदेखाजस्तो गरेर उल्टै जनताका आवाज मुखरित हुने ठाउँ संसद् नै अवरुद्ध गर्नु जायज नभएको बताए।
नेपालमा सुन एकातिरबाट आउने अर्को देशमा जाने गरेको अहिले आएर थाहा भएको र त्यस्तो सूचना थाहा भएपछि आफ्नै मातहतको एकजना सहसचिव खटाएर सो सुनको पिछा गरेरै पक्राउ गर्न लगाइएको उनले जानकारी दिए।
अहिले जारी रहेको अनुसन्धानबाट पनि सरकारले यो अवैध कारोबार केवल विमानस्थलको प्रहरी र भन्सारको मात्र नभएर ठूलाबडाहरू र कतिपय विदेशी नागरिककै संलग्नता देखिएको खुलेकाले यसलाई अनुसन्धान गरी निष्कर्षमा पु¥याएर दोषीमाथि कारबाही गर्न कडाइका साथ लाग्न प्रहरी तथा प्रशासनलाई भनिएको पनि प्रधानमन्त्री दाहालले स्पष्ट पारे।











