पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : नेता सिंह
‘पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनहरुको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ,’ उनले भने।
काठमाडौं, साउन ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बर्ताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ प्रदेश (क)ले आयोजना गरेको प्रदेश सम्मेलनमा नेता सिंहले कांग्रेसल बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताए।
‘पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनहरुको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ,’ उनले भने।
नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे। कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै आउने गरी काम गर्न उनले सुझाव दिए।
उनले भने, ‘पार्टीभित्र काम नगर्ने तर पैसाको चलखेल गर्ने व्यक्तिलाई पाखा लगाउनुपर्छ, पार्टीभित्रबाटै उक्त अभियान चलाउनुपर्छ।’
नेता सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राखे। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनले बताए।











