Kathmandu Press

उपत्यकाका स्कुलमा आँखाको संक्रमण विकराल बन्दै

संक्रमण विकराल बन्दै गएपछि गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, एक सय ४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको जनाएको छ।
उपत्यकाका स्कुलमा आँखाको संक्रमण विकराल बन्दै

काठमाडौं, साउन ३० : उपत्यका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखाको संक्रमण फैलिँदै गएको छ। विद्यार्थी संक्रमित हुन थालेपछि विद्यालय बन्द गर्न थालेका छन्।

संक्रमण विकराल बन्दै गएपछि गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, एक सय ४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको जनाएको छ।

यस्तै, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सोमबार र मंगलबारका लागि भनेर १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरेको जनाएको छ।

सय जना विद्यार्थीमा भाइरल संक्रमण देखिएपछि काठमाडौंको टोखा नगरपालिकास्थित हेराल्ड इन्टरनेसनल मावि पनि सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ जनाइएको छ।

काठमाडौं महानगरपालका भित्रका सामुदायिक र निजी विद्यालयमा पनि समस्या देखिन थालेको छ। यसैविच, ललितपुरको महालक्ष्मी नगरपालिकाको युनाइटेड स्कुल पनि आँखाको संक्रमण फैलिएपछि आइतबारदेखि बन्द गरिएको छ।

कीर्तिपुर आँखा अस्पतालले जनाए अनुसार भाइरल कन्जन्टिभाइटिस् संक्रमणका कारण आँखामा समस्या उत्पन्न भएपछि दैनिक ६० देखि ७० जना आँखा पाक्ने बिरामी उपचारका लागि आउने गरेका छन्।

यता, तिलगंगा आँखा प्रतिष्ठानमा पनि एक महिना यता एक हजार ३९७ जनामा कन्जन्टिभाइटिस् संक्रमण विरामी उपचारका लागि आएका छन्।

 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्