सिनामंगलबाट बरामद सुन ६० किलो ७८९ ग्राम
सोमबार राष्ट्र बैंकको टक्सार विभागले सीआईबी, राजस्व कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।
काठमाडौं, साउन २९ : चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ।
बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। सोमबार राष्ट्र बैंकको टक्सार विभागले सीआईबी, राजस्व कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।
हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो।
सुरुमा २ जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो। त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ।
यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानीबाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।











