वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
काठमाडौं, साउन २९ : अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। यसैगरी महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले त्यहाँ पनि आवश्यक सतर्कता अपनाउन भनिएको छ।
कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ। आज पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ।
अझै केही दिन वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ। महाशाखाका मौसमविद् रोजन लामिछानेले आज र भोलि बदलीका साथै वर्षा हुने बताए।
'आज र भोलि बदली र वर्षा हुनेछ, तर पनि, गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ। सोमबार र मङ्गबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ,' उनले भने।
अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमको पहाडी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि मंगलबार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको महाशाखाले जनाएको छ। सोही मौसमी प्रणालीको प्रभावले बदली र वर्षा गराएको हो।











