सिनामंगलमा बरामद सुन जोख्न टक्सार महाशाखालाई सिआइबीकाे पत्र
टक्सार महाशाखा स्राेतका अनुसार सिआइबीकाे पत्र प्राप्त भएकाले सुन जोख्ने प्रक्रिया सुरु हुनेछ। साेमबार सामान खोलेर सुन छुट्टयाउने र गाल्ने प्रक्रिया सुरु हुने बताइएकाे छ।
काठमाडौं, साउन २९ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर राजश्व अनुसन्धान विभागले बरामद गरेकाे सुन जोख्न अनुराेध गरेकाे छ।
टक्सार महाशाखा स्राेतका अनुसार सिआइबीकाे पत्र प्राप्त भएकाले सुन जोख्ने प्रक्रिया सुरु हुनेछ। साेमबार सामान खोलेर सुन छुट्टयाउने र गाल्ने प्रक्रिया सुरु हुने बताइएकाे छ।
साउन ३ गते सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसबेला ब्रेक सुसहितको तौल लिइएको थियो। त्यसमा सुन लगभग एक क्विन्टल रहेकाे आकलन गरिएकाे छ।
सुन छुट्याएर सकियो भने जोख्ने काम एकैदिनमा सकिने र त्यसपछि गुणस्तर जाँच्न थप तीन दिन लाग्ने बताइएकाे छ। राजस्वले सुन प्रकरणको अनुसन्धान १९ दिन गरेर थप छानबिनको जम्मा सिआइबीलाई जिम्म दिएकाे थियो।