ललिता निवास प्रकरणको अनुसन्धानमा मेराे सहयोगी भूमिका रहन्छ : माधव नेपाल
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको प्रकरणमा नाम मुछिएपछि उनी युरोप भ्रमण छोट्याएर सोमबार बिहान स्वदेश फर्किएका हुन्।
काठमाडौं, साउन ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको प्रकरणमा नाम मुछिएपछि उनी युरोप भ्रमण छोट्याएर सोमबार बिहान स्वदेश फर्किएका हुन्।
‘बालुवाटार जग्गामा बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो, मेरो सहयोगी भूमिका रहनेछ,’ उनले भने।
उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशाय राखी ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिइकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताए।
उनले आफूले कुनै गलत काम नगरेको हुँदा कत्ति पनि नआत्तिएको बताए। आफू विदेश जाँदा भागेको भनेर हल्ला फैलाइँदा भने चित्त दुखेको उनले बताए।
‘कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन,’ उनले भने, ‘कसैकसैले त माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो।’ आफू गोली चल्ने बेलामा, राजाले गिरफ्तार गर्न खोज्दा त नभाको उल्लेख गर्दै उनले अपराध नगगरेको अवस्थामा तर्सेर भाग्ने मान्छे नभएको बताए।











