Kathmandu Press

कागखोलाबासी भन्छन्– ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं

‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौं,’ उनले भने, ‘यहाँका बूढापाका हिजो र अस्ती अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन्।’
कागखोलाबासी भन्छन्– ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं

म्याग्दी, साउन २९ : मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए।

कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो।

‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौं,’ उनले भने, ‘यहाँका बूढापाका हिजो र अस्ती अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन्।’

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ।

RSS_Mustang-Kagbenifoodgharmabadipasako1691992276.jpg

कागबेनीकी कल्पना मगर बाढी आएको पूर्वसूचना पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरवासविहीन हुनुपरेकोमा दुखी छिन्। उनी भन्छिन्, १कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी छु, तर, घरवास केही रहेन।’

गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० भन्दा बढी घर-होटल बाढीले भत्काएको बताए।

‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘रातभर विस्थापितको व्यवस्थानमा लाग्यौं। बिहानदेखि क्षतिको विवरण संकलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ।’  

RSS-Kagbenifloodbridgebagayako1691992276.jpg

कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पु¥याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ। प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन्। कागबेनीको बीच भाग भएर कागखोला बग्छ।

बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ। जोमसोम–कोरला सडक अन्तरगत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ।

पुलको सल्याब बाढीले बगाएर केही तल पु¥याएको छ। पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ। लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो।

विद्युत्का पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ। पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ। कागबेनीमा हिन्दूले पितृलाई तर्पण दिने ठाउँ बगाएको छ। भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ।

kagbeni1691992258.jpg

नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ। कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए।

बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोम देखि कागबेनी पुग्न समस्या भएको छ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको बताए। क्षतिको विवरण सङ्कलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उहाँले बताए।

RSS-Kagbenibadi(6)1691992275.jpg

दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ। स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन्। बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ। मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ।

मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ।

कालीगण्डकी पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिने नदी हो। भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए।

‘तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौं। म्याग्दीमा क्षति गरिसकेको छैन। जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौं,’ उनले भने।

RSS_Kagbeniflood1691992275.jpg

अन्नपूर्ण गाउँपालिका–४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ। पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताए। म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक एक हप्तायता अवरुद्ध छ।

हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए। मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र संघीय सरकारसँग ध्यानाकर्षण गराएको उनले बताए।

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्