कांग्रेस संसदीय दल बैठक : सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन नेताहरुको जोड
कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले एक क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिए।
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका अधिकांश सांसदहरुले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिएका छन्।
संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले एक क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिए।
बैठकमा कांग्रेस सांसदहरू शेखर कोइराला, प्रदीप पौडेल, डा.प्रकाशशरण महतलगायतका नेताहरु निष्पक्ष छानविन समिति बनाउनमा जोड दिएका थिए।
त्यस्तै बैठकपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणको छानविनका विषयमा धारणा राखेको बताए। उनले सत्तामा नरहेका कारण एमालेले लगातार सदन अवरुद्ध गरेको जिकिर पनि गरे। उनले सदनबाटै सबै विषयको हल हुनसक्ने भएकाले सदन खोल्न गर्न गम्भीर हुनुपर्ने उल्लेख गरे।
अर्का सांसद प्रदीप पौडेलले सुन तस्करीका बिषयमा कुनै संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताए। अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्वीन्टल सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानविनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरुले धारणा राखेका थिए । सोमबार ११ बजे पुन दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। बैठकमा धेरै बिषयमा धारणा आएको भन्दै सबै बिषयलाई समेटेर सोमबार उचित निर्णय लिइने बताए।











