भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने गिरोह पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सातजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।
काठमाडाैं, साउन २८ : पोल्यान्ड लगाएत बिभिन्न देश पठाउन भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सातजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने ५ वंगलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन्।

उनीहरुले बंगलादेशबाट विभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसंग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए।
आफूहरुसंग भएको रकम असुल गरेर परिवारसँग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए। विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उहाले जानकारी दिए।
पत्रकार सम्मेलनमा वंगलादेशी पीडित नागरिकहरुले आफुहरुलाई एजेन्टले पोल्याण्ड लगायत देश पठाउ ५ लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन्। नेपाल आएपछि आफूहरुसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको बताएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठीत अपराध ऐनबमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।











