एमालेलाई अहिले सरकारमा जान कुनै रुचि छैन : ओली
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेलाई सरकारमा जान कुनै रुचि नरहेको र देशको अर्थतन्त्र र जनताको दैनिकीमा चासो रहेको धारणा राखे।
काठमाडाैं, साउन २८ : एमाले अध्यक्ष केपी ओलीले सुन तस्करीको हल्ला चलाएर सरकारमा जाने एमालेको कुनै मनसाय नरहेको बताएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेलाई सरकारमा जान कुनै रुचि नरहेको र देशको अर्थतन्त्र र जनताको दैनिकीमा चासो रहेको धारणा राखे।
ओलीले माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको भन्दै न्यायिक छानबिन बनाउनुपर्ने जिकिर गरे। उनाले सुन तस्करीका विषयमा संसदमा आवाज उठाउदा सत्तापक्षले रोक्न खोजेको तर सदन अवरुद्धको दोष एमालेमाथि थोपर्न खाजेको बताए।
२३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद गर्नेमाथि सरकारले सोधपुछसम्म गर्न नसकेको आरोप उनले लगाए। ओलीले भ्रष्ट सरकारको नेतृत्व प्रचण्डले गरेको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने उल्लेख गरे।
उनले निर्माण व्यवसायीको समस्या सरकारले नसुनेको भन्दै छिटो भन्दा छिटो वार्तामा बोलाएर समस्या समाधान गर्न सुझाव दिए।











