Kathmandu Press

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुुई गीति एल्बम सार्वजनिक गरेकी छन्।
तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

गण्डकी, साउन २७ : कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गरेकी छन्।

समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुई गीति एल्बम सार्वजनिक गरेकी छन्।

'कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।
कति दुःख गरियो याद ताजै छन्।'  

Hardik ivf

गीतबाट सुरु उनको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई वर्षेनी परनिर्भरतातर्फ डोर्‍याएको उल्लेख गरिएको छ।

परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा 

'हलो जुवा स्याखु खत्री नामै नौला भैसके।
म्युयिममा राख्नुपर्ने बेला आइसके,'  भनिएको छ।

रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,
'बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा।
अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा...
मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन।
गमलामा धान रोपी किसान जनाउन...' उल्लेख गरिएको छ।

किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले 
'किसानले खेती गर्दा मल बीउ नपाउने।
सरकारको बजेट आउँछ बाँदर धपाउने...' भनेकी छन्।

वाग्लेले कोही कसैलाई दोष मात्रै दिएर नभै समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिएकी छन्। हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उनका गीतमार्फत सन्देश दिन खोजिएको छ। खुर्सानी गोलभेँडामा परनिर्भर रहनुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ।

गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरि पनि तीज आयो मन दुखाउन’ शीर्षाकको गीति एल्बम बजारमा ल्याएकी छन्। 

'गारो हुने मनका पीडा परेलीमा लुकाउन।
फेरि पनि आयो तीज मन दुःखाउन...'

उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र वेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने  पीडालाई गीतमा देखाइएको वाग्लेले बताए। उनका अनुसार दुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन्। 

गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ। गीतको निर्देशन छवि सुवेदीले गरेको छ भने छायांकन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भुर्तेलले गरेका हो। छायांकनमा नेवा खलः कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन्। 

पहिलोपटक विसं २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुुई, शहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसकेका छन्।

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्