दुई तिहाइ आए संविधान संशोधन गरी पहिचानसहितको संघीयता लागु गर्न अप्ठेरो पर्दैन : मन्त्री मोदी
मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाए पनि निर्णायक हुन नसकेकाले लागु गर्न नसकिएको भन्दै दुई तिहाई नजिकको मत आए पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताएका हुन्।
काठमाडाैं, साउन २७ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाइ नजिक आए संविधान संशोधन गरेर पहिचान सहितको संघीयता लागु गर्न कुनै अप्ठेरो नरहेको बताएका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाए पनि निर्णायक हुन नसकेकाले लागु गर्न नसकिएको भन्दै दुई तिहाइ नजिकको मत आए पहिचान सहितको संघीयता लागु गर्न कुनै अप्ठेरो नरहेको बताएका हुन्।
पहिचानसहितको अधिकारको माग गर्नेहरुले नै निर्वाचनका बेला अन्य पार्टीलाई मत दिँदा समस्या भएको उनको भनाइ छ। मन्त्री मोदीले प्रदेशको नामाकरणको अधिकार सम्बन्धित प्रदेशसभालाई हुने भए पनि एक नंवर प्रदेशको नामकरण पहिचानका आधारमा हुनुपर्ने आफ्नो धारणा रहेको जिकिर गरे।
पहिचान सहितको संघीयता लागू गर्नका लागि माओवादीबाट भएका त्रुटिहरुको समीक्षा भइरहेको उनले बताए। त्यस्तै मन्त्री मोदीले वर्षौदेखि बन्न नसकेको संघीय निजामति ऐन आफु आए पनि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुग्ने प्रक्रियामा रहेको जानकारी दिए।
कार्यक्रममा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० पत्रकार दिलीप थापा मगरलाई प्रदान गरिएको थियो। त्यस्तै फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८० काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ।
त्यसैगरी ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई प्रदान गरिएको छ।











