डुब्न लागेको घामजस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन : मन्त्री ज्वाला
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा मन्त्री ज्वालाले राष्ट्र र समाजका लागि काम गर्ने भनेको युवाहरु भएको भन्दै पुरानो व्यक्तिहरुसँग ज्ञान, सिप र अनुभव लिएर अगाडि बढ्नु पर्ने बताए।
काठमाडौं, साउन २७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन नसक्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा मन्त्री ज्वालाले राष्ट्र र समाजका लागि काम गर्ने भनेको युवाहरु भएको भन्दै पुरानो व्यक्तिहरुसँग ज्ञान, सिप र अनुभव लिएर अगाडि बढ्नु पर्ने बताए।
उनले भने, डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन्। उसका ज्ञान, सिप, अनुभव हामीले लिनुपर्छ। तर अब राष्ट्र, समाजका लागि काम गर्ने भनेको युवाहरुले नै हो। जो विहानका घाम जस्तै हुन्छन्। उनीहरुको काँधमा राष्ट्रको जिम्मेवारी छ। अबको कानून, नीति, कार्यक्रम र पार्टी युवा मैत्री हुनुपर्छ।’
मन्त्री ज्वालाले युवाहरुलाई नेपालमा राख्ने हो भने रोजागारीको सिर्जना गर्नु आवश्यक भएको भन्दै त्यसको लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताए। उनले दिशाहिन युवाले राष्ट्र निर्माण, क्रान्ति र समाज सेवामा योगदान गर्न नसक्ने भन्दै यही कारण युवाहरुलाई सरकारले लिएको लक्ष्य तर्फ आकर्षित गर्नु आवश्यक भएको पनि बताए।
मन्त्री ज्वालाले भने ‘ अब रोजगारी, उत्पादन वृद्धि, पुँजी निमार्ण, राष्ट्रिय पुँजी प्रोत्साहन, दलाल पुँजीवादलाई निरुत्साहित, नियन्त्रण गर्ने र शोषणलाई अन्त्य गर्ने कार्यक्रम बनाएर समाजवादको लक्ष्यमा पुग्ने हिसाबमा अगाडि बढ्नुपर्छ।’
उनले वैचारिक धरातलमा उभिएको, जनताको आधार भएको र बलियो संगठन भएको पार्टीले मात्रै समाजवादको लक्ष्य पूरा गर्न सक्ने भन्दै त्यही हिसाबमा अगाडि बढ्नु पर्ने पनि बताए।











