नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छ : शेखर कोइराला
शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे।
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन्।
शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे।
‘भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ। त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ। मैले क्विन्टल र किलोको कुरा गरेको छैन,’ उनले भने ‘४ सय देखि ५ सय टन सुन अवैध रुपमा भारत गइरहेको छ। नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ। अहिले पनि गइहरेको छ, हामीलाई सूचना मात्र नभएको हो ।’
त्यस्तै प्रधानमन्त्री कार्यालयमातहतमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए। उनले भने, ‘ओलीजी प्रधानमन्त्री हुँदाखेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं। राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुहुँदैन, जुन पहिले जहाँ थियाे त्यही पठाउनुपर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं। ओलीजीले सुन्नुभएन। तर दुर्भाग्य हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो उहाँले पनि सुन्नुभएन। आफ्नै मातहतमा राख्नुभयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि आफ्नै मातहतमा राख्नुभयो ।’
सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनसन्धानका लागि दिन आफूहरुले आग्रह गरेको उनको भनाइ छ। ‘सुन काण्ड हुनुभन्दा ७ दिन पहिले नवराज ढुङ्गानालाई राजस्व अनुसन्धान विभागमा लगियो। सुन काण्ड भयो। प्रहरीलाई सहभागि गराइएन। हामीले भनिराख्यौं सिआईबीलाई दिइहालौं भनेर,’ उनले भने ।
अर्को प्रसंगमा उनले नेपाली कांग्रेसमा व्यक्तिवादी, स्वार्थीपनाको चरित्र हाबी भएको बताए। यस्ता क्रियाकलापले पार्टीलाई कमजोर पार्ने भन्दै उनले विधिविधानलाई मिच्ने प्रवृत्तिप्रति नेपाली कांग्रेस होसियार हुनुपर्ने बताए।











