उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्।
सुर्खेत, साउन २७ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा जोड दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्।
प्रत्येक वर्ष बाहिर आएका भ्रष्टाचारका काण्डको आयोगमार्फत निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै उनले भने, ‘भ्रष्टाचारको बिगबिगी पछिल्लो समय पनि कमी आएको छैन, प्रत्येक वर्ष ठुला काण्ड बाहिर आएका छन्। एउटाएउटा काण्ड मात्र छानबिन गर्ने नभई उच्चस्तरीय छानबिन आयोग बनाएर समग्र रुपमा सबै घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ।’
भ्रष्टाचार नियन्त्रण गर्न स्थापना गरिएको संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्तै कमजोर भएको बताउँदै उनले कार्यकारीको छाया नपर्नेगरी भ्रष्टाचारका काण्डहरुको छानबिन गर्नुपर्ने बताए। भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गरे।
ललिता निवास प्रकरणबारे भट्टराईले आफ्नै पालामा केही गल्ती भएको र छानबिनमा आफू तयार रहेको समेत बताए। ‘ललिता निवास प्रकरणमा मेरो पालामा पनि केही गल्ती देखिएका छन्,’ उनले भने, ‘यो प्रक्ररणमा छानबिन गर्नुपर्छ, त्यसको निम्ति म पूरै सहयोग गर्छु। तर सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन्।’
उनले ३–४ रोपनी जग्गाको विषय आफ्नो पालामा भएको बताउँदै त्यो मेरो नियतवश नभई मन्त्रिपरिषद्को निर्णय भएके जिकिर गरे।
सत्ता परिवर्तनको खेल खेलिरहनेभन्दा संविधान नै संशोधन गर्नुपर्ने उनको भनाइ।











