प्रहरीद्वारा ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानएको छ।
काठमाडौं, साउन २७ : नेपाल प्रहरीले ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन्।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले लु १ प ५ नम्बरको पर्यटक बस नागढुङ्गामा जाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा नक्कली नोट फेला परेको जानकारी दिए।
“बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार नक्कली नोट बरामद गरेका हौँ,” एसएसपी कार्कीले भने।
कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट प्रहरीले जनाएको छ। पक्राउ परेकालाई मुद्रा कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको परिसर प्रमुख कार्कीले बताए।











