‘सांसद सुनील शर्माको पक्राउको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’
शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चत धारणा सार्वजनिक गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
काठमाडाैं, साउन २६ : नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चत धारणा सार्वजनिक गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै लेखकले थप छलफल गरि आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए। उनले पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरुको भनाइ रहेको र बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे।
संसदीय दलको बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पुनर्निर्माण, राहत उद्धारको व्यवस्था गर्न माग गरेको छ भने लम्कीस्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बैठकले डेंगु र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताए।
बैठकले तराईका केहि क्षेत्रमा प्रयाप्त बर्षा नभएका कारण रोपाई र खानेपानीको समेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उहाले बताए। लेखकले जनताको सरोकारका बिषयहरु अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक बिषय भएको जिकिर गरे।
उनले सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा राखे। कांग्रेस संसदीय दलको बैठक आइतबार पुन बस्ने लेखकले जानकारी दिए।











