सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपकाे आपत्ति
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै जसपाले राजनीतिक पूर्वग्रहका आधारमा दर्ता भएको निकै पुरानो जाहेरीकै आधारमा गौर घटनाको अनुसन्धान सुरु गर्ने गरि भएको सहमति गरिएको भन्दै आपत्ति जनाएको हो। उक्त सहमतिले सिंगो मुलुकको शान्ति, स्थिरता र सद्भावलाई नै विथोल्ने कार्य गरेको जसपाको भनाइ छ।
काठमाडाैं, साउन २६ : जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ।
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै जसपाले राजनीतिक पूर्वग्रहका आधारमा दर्ता भएको निकै पुरानो जाहेरीकै आधारमा गौर घटनाको अनुसन्धान सुरु गर्ने गरि भएको सहमति गरिएको भन्दै आपत्ति जनाएको हो। उक्त सहमतिले सिंगो मुलुकको शान्ति, स्थिरता र सद्भावलाई नै विथोल्ने कार्य गरेको जसपाको भनाइ छ।
त्यस्तै जसपाले २०६४ साल फाल्गुन १३ गते नेपाल सरका र तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबीच भएको सम्झौता तथा २०६४ साल फाल्गुन १६ गते सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सम्पन्न सम्झौताहरुको सरकारद्वारा ठाडो उलंघन भएको जसपा प्रवक्ता मनिष सुमनले बताए।
त्यस्तै उनले तराई÷ मधेश÷ थरुहट लगाएतका क्षेत्रमा बिभिन्न राजनीतिक दलहरुको गरेको आन्दोलनका क्रममा भएको घटनाहरुको सत्यतथ्य छानविन सम्बन्धी लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्नुभयो। प्रवक्ता सुमनले सर्वपक्षिय उच्चस्तरीय संसदीय छानविन समिति गठन गरि उक्त समिति मार्फत सत्यतथ्यहरु पत्ता लगाई समस्याको समाधान गर्न र दोषी उम्काउने र घटनामा संलग्न नै नरहेका निर्दोष व्यक्तिहरुलाई फसाउने काम बन्द गर्नुपर्ने पार्टीको धारणा रहेको बताए।
प्रवक्ता सुमनले अचानक गौर घटनाको मुद्धाको उठान गरेर जसपालाई फसाउने काम भर्एको र यसैसँग सम्बन्धित अन्य प्रतिवेदन लुकाएर सरकारले बदनियतपूर्ण व्यवहार गरेको बताए। तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको झडपका क्रममा २०६३ चैत ७ गते गौरमा भएको हिंसात्मक झडपमा २७ जनाको मृत्यु भएको थियो।