एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक साउन २९ गतेसम्म स्थगित
प्रतिपक्षी एमालेले बैठक अघि बढ्न नदिने संकेत देखिएपछि सभामुख घिमिरेले निर्धारित कायसूची अगाडि नबढाउने जानकारी दिँदै साउन २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे।
काठमाडौं, साउन २६ : नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए।
साह बोल्न थालेपछि सत्तारूढ दल माओवादी केन्द्रर र नेपाली कांग्रेसका सांसदहरू पनि आआफ्ना ठाउँमा उठेका थिए। साहले बोलिरहँदा सत्तापक्षका सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरे।
त्यसपछि सभामुख घिमिरेले नियमको पालना गर्न आग्रह गरे। ‘नियमको पालना गरौं। मैले समय प्रतिपक्ष दलको माननीय बाट ज्वाला कुमारी साहलाई दिएको छु। उहाँले बोलिसकेपछि यहाँहरूको कुरा के हो त्यो म सुनाउनेछु।’
सत्तापक्षका सांसदहरुको होहल्लाका कारण ‘कुरा नसुनिएको’ भन्दै सभामुखले एमाले सांसद साहलाई बस्न आग्रह गरेलगत्तै एमाले सांसदहरु वेल घेराउ गरेर नाराबाजीमा उत्रिए।
प्रतिपक्षी एमालेले बैठक अघि बढ्न नदिने संकेत देखिएपछि सभामुख घिमिरेले निर्धारित कायसूची अगाडि नबढाउने जानकारी दिँदै साउन २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे।
होहल्ला भइरहेकै बेला एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन्। एमालेले सय किलाे सुन तस्करी प्रकरणमा साउन १० गतेदेखि संसदकाे दुवै सदन अवराेध गर्दै आएको छ। आजै बसेको राष्ट्रियसभा बैठक पनि एमालेकै कारण स्थगति भएको छ।











