२१ मन्त्रीले गरे प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरिएको छ।
काठमाडौं, साउन २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कामको मूल्यांकनको आधारमा मन्त्रीहरुको मासिक रिपोर्ट कार्ड बनाउन सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरिएको छ। संघीय सरकारका २१ जना मन्त्रीले कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौतामा हस्ताक्षर गरेका छन्।
कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले तोकिएको कार्यादेश र कार्यविवरणअनुसार प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका थिए।
आर्थिक वर्ष २०७९/८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/८१ को लक्ष्य निर्धारण गरिएको छ। सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरु, कार्यक्रम, क्रियाकलापको सूची र जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख छ। यस्तै सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक पनि राखिएको छ। सम्झौता अनुसार कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने छ। यसैलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने छ।
कार्यसम्पादन सम्झौताको अवधि १ वर्षको हुने छ। सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘कार्यसम्पादनको नतिजा नै यहाँहरूलाई चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने कुरा स्पष्ट गर्छु।’











