Kathmandu Press

टोकियोमा नेपथ्य : कोशीको पानी सम्झँदै सुरु, राष्ट्रिय झण्डा उठाएर अन्त्य

त्यो क्रमलाई ‘भेंडाको ऊनजस्तो’ले झनै तीव्रता दियो। त्यसपछि आफ्नो सर्वकालीक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो।
टोकियोमा नेपथ्य : कोशीको पानी सम्झँदै सुरु, राष्ट्रिय झण्डा उठाएर अन्त्य

टोकियो, साउन २५ : मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो –

‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’
यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो।
त्यसको लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरु गरे–
‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर
आमाको कोखमा बास मात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’

03 Nepathya performing to a packed audience in Tokyo. Photo - Dipit Raj Neupane - nepalaya1691653340.jpg

Hardik ivf

यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा ३ हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो।

त्यो क्रमलाई ‘भेंडाको ऊनजस्तो’ले झनै तीव्रता दियो। त्यसपछि आफ्नो सर्वकालीक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो। त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे।
‘यो तीन दशकभन्दा लामो यात्रामा तपाइर्हंरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच सांगीतिकदेखि लिएर मिलन बिछोडसम्मका अनेक यादहरु छन्।’

01 Nepathya performing to a packed house in Tokyo. Photo - Dipit Raj Neupane-nepalaya1691653340.jpg

यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए – ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्बिर देखाइएको थियो।    

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितीसँगै केही जापानी अनुहार पनि देखिन्थे। तिनैमध्ये टोकियोमै रेष्टुरेन्ट व्यावसाय चलाउँदै आएका नारुओ पनि थिए। ‘मैले एउटा बेग्लै र गजबको सांगीतिक साँझ अनुभूति गरेँ,’ नारुओ भन्दै थिए, ‘शब्द बुझ्न नसके पनि त्यसका भाव र संकेतहरु ठम्याउँदै रमाउन सकिने संगीत थियो।’ उनले कन्सर्ट अवधिभर आफूलाई समुद्रका छालहरुसँगै बगिरहेको जस्तो महसुस भएको पनि सुनाए।

04 Nepathya performing in Tokyo. Photo - Dipit Raj Neupane - nepalaya1691653340.jpg

नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा यो कन्सर्ट हेर्न आएको बताउने नारुओले आजसम्म आफू भने त्यो मुलुक घुम्न नपाए पनि यो कन्सर्ट हेरेपछि आफुमा घुम्न जाने अठोट भरिएको बताए।

कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनु अघि अमृत फेरि बोल्न तम्सिए। त्यतिबेला उनले सांगीतिक मात्र नभइ सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दै आएको नेपथ्यबारे व्याख्या गरे।

‘समाजले बेहोर्नुपरेका अनेक चुनौतीहरुकै क्षण हामीले आफ्नो भूमिका पनि फराकिलो पार्दै आएका छौं,’ उनले भने, ‘बालबालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुँदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं।’ बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताका लागि संगीत’ अभियान सुरु भएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले स्पष्ट पारे।

नेपालमा हिजोआज सडकमा आश्रित मानिसहरुको संख्यामा निकै कमी आएको छ,’ अमृतले भने, ‘जसका कोहि हुदैनन् उसैको पक्षमा उभिँदै हामी पनि तपाइहरुसम्म आइपुगेका छौं।’

स्थानीय समयअनुसार बेलुकीको ठीक साढे छ बजे सुरुभएको कन्सर्ट सोह्रवटा गीत र दुइवटा म्यूजिक भिडियो देखाएर दुइघन्टाभन्दा बढी अवधि चलेको थियो। सँधैझैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म आइपुग्दा हलभरि जताततै दर्शकहरु नृत्य गरिरहेका देखिन्थे।

02 Nepathya performing at Toyosu Pit in Tokyo. Photo - Dipit Raj Neupane - nepalaya1691653339.jpg

‘टोकियोमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भब्य र सभ्य रुपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभाष लामिछानेको प्रतिक्रिया थियो, ‘यो उपस्थिती देखेर सबै अचम्म मानिरहेका छौं।’ सुभाषका अनुसार कन्सर्ट हेर्न परको जापानी सहर होकाइडो मात्र नभइ दक्षिण कोरियादेखि आएका दर्शकहरु पनि देखिन्थे।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक भने पाँच वर्षअघि त्यहाँको प्रसिद्ध टोकियो डोममा ब्याण्डले लोकरक सुनाएको थियो। मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए।

यसअघि जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना अनुरुप दुइ दिनअघि यहाँ आइपुगेको १४ सदस्यीय नेपथ्य टोलीलाई नारिता विमानस्थलमा स्थानीय आयोजकहरुले स्वागत गरेका थिए। टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुति फुकुओका सहरमा हुनेछ। साउन २७ गते (१२ अगस्ट)का दिन त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुन्जनेछ।

तस्बिरहरू : दिपित राज न्यौपाने नेपालय

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्