एमालेकाे अवरोधका कारण राष्ट्रिय सभाको बैठक पनि २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, साउन २४ : नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ।
एमालेका सांसदहरूले अवरोध गरेका कारण बुधबारका लागि तय भएकाे कार्यसूची अगाडि बढ्न नसकेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बैठक स्थगित गरे। उनले अर्को बैठक साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन्।
एमालेकै कारण प्रतिनिधिसभाको बैठक पनि २६ गतेसम्मका लागि स्थगित भएको छ। सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार नभएसम्म संसद चल्न नदिने एमालेको अडान छ।
आजको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए। त्यसलगत्तै बैठकलाइ नियमित कार्यसूचीमा लगेपछि एमालेका सांसदहरु उठेका थिए।
एमाले सांसद विमलाकुमारी घिमिरेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताइन्। उनले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनशन बस्छु भनेर बोलेको धारणा राखेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्तसि जनाए।
रायमाझीले बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रेकर्ड खोलेर हेर्न माग गरे। सत्तपक्ष र प्रतिपक्षी सांसदहरुबीच वाद–प्रतिवाद भएपछि तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए।











