महरा दोषी प्रमाणित भए कारबाही हुन्छ : सापकोटा
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार ‘प्रेसमिट’ मा सापकोटाले दोषी प्रमाणित भए कसैलाई नछाड्ने बताएका हुन्। पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘महराको विषयमा बाहिर मिडियामा पनि धेरै समाचार आएका छन्।
काठमाडौं, साउन २४ : माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि सरकारले अनुसन्धान अगाडि बढाउने भनाइ राखेका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार ‘प्रेसमिट’ मा सापकोटाले दोषी प्रमाणित भए कसैलाई नछाड्ने बताएका हुन्। पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘महराको विषयमा बाहिर मिडियामा पनि धेरै समाचार आएका छन्।
सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस्। म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ। यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ।’
सुन प्रकरणलगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको पनि सापकोटाले बताए। उनले छानविनमा सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि बताए।
सापकोटाले संसदमा एमालेको अवरोध ‘बार्गेनिङ’ का लागि भएको दाबी पनि गरे। ‘सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक छैन,’ उनले भने ।