ठुला काण्डका आरोपितले सिआइबीको हिरासत खचाखच
सिआइबीले ललिता निवास जग्गा प्रकरण, सय क्विन्टल सुन तस्करी र शिवशिखर सहकारी ठगीको अनुसन्धान गरिरहेको छ। अहिले सिआइवीले यी तीनवटा प्रकरणमा ४५ आरोपितलाई हिरासतमा लिएको छ।
काठमाडौं, साउन २४ : ठुला अपराधमा छानबिनका कारण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासत खचाखच भएको छ।
सिआइबीले ललिता निवास जग्गा प्रकरण, सय क्विन्टल सुन तस्करी र शिवशिखर सहकारी ठगीको अनुसन्धान गरिरहेको छ। अहिले सिआइवीले यी तीनवटा प्रकरणमा ४५ आरोपितलाई हिरासतमा लिएको छ।
ललिता निवास जग्गा प्रकरणमा मात्र २० जना पक्राउ परेका छन्। त्यसपछि सुन तस्करी प्रकरणमा तानिएका १७ जनालाई राजश्व अनुसन्धान विभागले सिआइबीको जिम्मा लगाएको छ।
यता, शिवशिखर सहकारीका आरोपित पनि छानबिनका लागि सिआइवीको हिरासतमा छन्। पक्राउ परेका ४५ मध्ये २० जना सिआइबीको हिरासत कक्षमा छन्। अन्य २५ जना हिरासतमा नअटेर सीआईबीले काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको छ।
सिआइवी स्रोतले जनाए अनुसार २५ जना आरोपीलाई दरबारमार्ग प्रहरी वृत्त, महाराजगन्ज र स्रोहखुट्टे प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको छ।