मालपोत अधिकृत मिश्रसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार अधिकृत मिश्रसहित सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, रामेश्वरप्रसाद साह, कमोद तिवारी र लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
काठमाडौं, साउन २४ : राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय वीरगन्जका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार अधिकृत मिश्रसहित सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, रामेश्वरप्रसाद साह, कमोद तिवारी र लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुविरुद्ध मालपोत कार्यालयको रजिष्ट्रेसन फाँट (क) र (ग) बाट रजिष्ट्रेसन पास गर्दा घरबाटो सिफारिसविना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी व्यक्तिगत लाभमा लिखत पारित गरेको दाबीसहित परेको एक उजुरीमा अनुसन्धानपछि मुद्दा चलाइएको हो।
मालपोत अधिकृतहरु मिश्र, द्वीवेदी र भण्डारीका साथै कम्प्युटर अधिकृत तिवारी, नासु साह र नासु भट्टराईले फाँट (क) बाट १७ वटा र फाँट (ग) बाट २ वटा लिखतहरू पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा बदनियतपूर्वक राजस्व चुहावट गरेको दाबी अख्तियारको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय र बिगो असुल्न माग गरिएको छ।