Kathmandu Press

एमालेकाे नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक साउन २६ गते

एमाले सांसद थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकाले संसद बैठक चल्न नसक्ने बताएका थिए।
एमालेकाे नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक साउन २६ गते

काठमाडौं, साउन २४ : एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरू आआफ्नो ठाउँमा उतिएका थिए। सभामुख देवराज घिमिरेले सूर्य थापालाई बोल्न समय दिएका थिए। एमाले सांसद थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकाले संसद बैठक चल्न नसक्ने बताएका थिए।

उनले बोल्न थालेपछि सत्ता पक्षका सांसदहरूले उभिएर विरोध जनाए। त्यसपछि एमालेका सांसदहरू वेल घेराउ गर्दै नाराबाजी गरेका थिए। सत्तापक्षका सांसदहरुले विरोध गर्दा थापाले सुन तस्करी काण्डको २२ दिन बित्दा पनि सत्ता पक्षले छानबिनका लागि कुनै मनशाय नदेखाएको बताए।

त्यसपछि सभामुखले सुन तस्करीबारे विभिन्न तरिकाले छलफल गरिरहेको, प्रतिपक्षले कुरा राखिसकेको, गृहमन्त्रीले जवाफ पनि दिइसकेको, देश बाढीपहिरोको चपेटामा रहेका बेला संसद अवरुद्ध गर्न नमिल्ने भनेर सांसदहरुलाई बैठक अघि बढ्ने वातावरण बनाउन आग्रह गरे। उनले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरे पनि अवरोध नहटेपछि सभामुखले साउन २६ गते दिनकाे १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै वेल घेराउ गरेर नाराबाजी गरेका हुन्। एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ।

 

 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्