कांग्रेस सँधै समावेशिताको पक्षमा छ : देउवा
२९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताए।
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सँधै समावेशिताको पक्षमा रहेको बताएका छन्।
२९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताए।
नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सबै कुराहरु देशको सम्पत्ति भएको बताए। उनले भने, ‘नेपाल प्राकृतिकरुपमा मात्रै होइन, जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण छ। यी सबै कुराहरू हाम्रो देशका सम्पत्ति हुन् । हामीले यी सबै कुरालाई संरक्षण र संवर्द्धन गर्दै बहुसांस्कृतिक देशका रुपमा नेपाललाई चिनाउन सक्छौँ।’
संविधानमा उल्लेख समावेशीताको विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको देउवाको भनाई थियो। ‘हाम्रो देशै यस्तो छ, हामीले समावेशी संविधान लेखेका छौँ । र त्यहीअनुसार हाम्रो पार्टी पनि समावेशी बनेको छ । अनि हामी पनि समावेशिताको पक्षमा उभिएका छौँ,’ उनले भने।











