‘सुशासन पहिलो शर्त हो, भ्रटाचारीलाई छाडिँदैन’
श्रेष्ठले ठूलो राजनीतिक परिवर्तनपछि पनि जनताले राजनीतिक परिवर्तनको गुणात्मक प्रतिफल पाउन नसकेको बताउँदै संसदमा भने, ‘त्यसको मुख्यकारण भ्रष्टाचार, कमिशनखोरी, दण्डहीनता नै हो।’
काठमाडौं, साउन २३ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन सरकारको पूर्वसर्त रहेको बताउँदै भ्रष्टाचारीलाई नछाडिने बताएका छन्।
सय केजी सुन तस्करीलगायत प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले उक्त भनाई राखेका हुन्। उनले सुशासन स्थापनाकै लागि सरकार दृढतापूर्वक अघि बढेको पनि बताए।
श्रेष्ठले ठूलो राजनीतिक परिवर्तनपछि पनि जनताले राजनीतिक परिवर्तनको गुणात्मक प्रतिफल पाउन नसकेको बताउँदै संसदमा भने, ‘त्यसको मुख्यकारण भ्रष्टाचार, कमिशनखोरी, दण्डहीनता नै हो।’
उनले लोकतान्त्रिक गणतान्त्रिक परिवर्तनपछि जनताले नयाँ जीवन पाउने अवस्था नबनेको बिषय खोज्दा भ्रष्टाचार, कमिनशन खोरी, दण्डहीनता, तस्करी, कालोबजारी, ठगी, किर्तेको जालोको कारण समृद्धिको यात्रामा गुणात्मक फड्कोमा अगाडि बढाउन नसकिएको निष्कर्षमा पुगेको पनि बताए। उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध भएर लागेको पनि बताए।
‘सुशासन नै सरकारको पूर्वसर्त हो। सुशासन स्थापना नगरेसम्म राजनीतिक परिवर्तनलाई शाधन बनाएर नयाँ जीवनको अनुभूति पायौँ भन्ने अवस्थामा पुग्न सक्दैनौँ। यसैलाई आधार बनाएर सरकार अगाडि बढिरहेको छ,’ श्रेष्ठले भने।
'भेप'मा लुकाएर ९ किलो सुन ल्याएको विषयमा माओवादी केन्द्रका नेता शंकाको घेरामा परेपछि अनुसन्धान रोकिएको भन्ने आरोपको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले भने, 'माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन् । अनुसन्धानका तथ्य प्रमाणले दोषी देखाए भने कोही छुट्दैन, कोही उम्कन पाउँदैन।'
सीआईलाई अनुसन्धान गर्न र जे तथ्य प्रमाणले देखाउँछ, त्यसको आधारमा अभियोजन प्रक्रियामा जान भनेको उनले बताए। उनले भने, ‘को मान्छेलाई तान्ने, को मान्छेलाई छुट दिन निर्देशन दिने हामी होइनौं। हामी कानुनलाई लागू गर्छौं, कानुन लागू गर्ने संस्थालाई अनुसन्धान गर्न दिन्छौं र, प्रमाणका आधारमा अगाडि बढौं।’











