‘तीन दलले देश र संसदलाई बन्धक बनाए’
‘तीन दलको बन्धक देश र संसदलाई बनाउन मिल्छ?, तपाईंहरू रातारात सल्लाह गर्ने, कुरा मिल्यो भनेपछि हामी लुरूलुरू पछि लाग्नुपर्ने?,’ उनले भने।
काठमाडौं, साउन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दलले देश र संसद्लाई बन्धक बनाएको छ।
मंगलबारको संसद बैठकमा बोल्दै उनले तीन दलले सदन र देश बन्धक बनाउन नहुने बताए। ‘तीन दलको बन्धक देश र संसदलाई बनाउन मिल्छ?, तपाईंहरू रातारात सल्लाह गर्ने, कुरा मिल्यो भनेपछि हामी लुरूलुरू पछि लाग्नुपर्ने?,’ उनले भने।
उनले संसदभित्र तीन दलको गैरसंवैधानिक शक्ति केन्द्र निर्माण भइरहेको पनि बताए। उनले भने, ‘म सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु( यो गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण यो संसदभित्र कसरी भइरहेको छ? संसदको नियमावली र संविधानको कुन धाराले तीन दलका नेता बस्ने परिकल्पना गर्छ?’
उनले संसदीय समितिमा दलहरूबीच भागबन्डा मिलेका विषयबारे पनि प्रश्न उठाएका छन्। उनले संसदीय समिति निर्माण कसरी गर्ने भन्ने नियमावलीमा उल्लेख भएको भन्दै उनले तीन दलले टुंगो लगाउने विषय नभएको बताए।
उनले सुन प्रकरणमा गृहमन्त्रीलगायतसँग सिआइबीले बयान लिन सक्छ कि सक्दैन भन्ने प्रश्न गरेका छन्। उनले भने, ‘निष्पक्षता र जनतालाई विश्वास दिलाउन पनि उच्चस्तरीय छानबिन समिति बनाउन मन्जुर हुनुस्,’ उनले भने, ‘छानबिन गर्नेबित्तिकै सरकार ढल्छ र?’
साथै, अध्यक्ष लिङ्देनले संसद खोल्ने विषयमा प्रतिपक्षको भन्दा पनि सरकार पक्षकै रूची नभएको बताए।











