सुन प्रकरणको छानविनमा सहयोग गर्न केले छेक्यो? : माओवादी
१ क्विन्टल सुन तस्करी प्रकरणमा छानविनका लागि सहयोग गर्न केले छेक्यो भन्दै उनले एमालेलाई प्रश्न पनि गरेका छन्।
काठमाडौं, साउन २३ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले गरेको राम्रा काममा सहयोग गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै संसद् पौडेलले यस्तो आग्रह गरेका हुन्। १ क्विन्टल सुन तस्करी प्रकरणमा छानविनका लागि सहयोग गर्न केले छेक्यो भन्दै उनले एमालेलाई प्रश्न पनि गरेका छन्।
‘धेरै पहिले सुडान घोटालाको प्रशंग उठ्यो। कहिले वाइडवडी, एनसेल प्रकरण, सेक्युरेटि प्रिन्टिङ प्रेस, ओम्नी जस्ता बिषयहरु पहिला पनि उठ्ने गरेका हुन्। ललिता निवास जग्गा प्रकरणमा अहिलेको सरकारले खोजी गरेर विषयलाई धन्यवाद दिन नसक्ने?,’ उनले भने, ‘शरणार्थी प्रकरणमा छानबिनको प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा गृहमन्त्रीलगायतलाई सम्मान गर्न सक्दैनौं? सुन प्रकरणमा पहिला पनि सररकार र गृहमन्त्री हुनुहुन्थ्यो। सुन आउने जाने भइरहेकै रहेछ तर यही सरकारले खोजेर यो प्रकरण रोक्ने कुरालाई सहयोग गर्न केले रोक्यो?’
सांसद पौडेलले कुनै कानुन नियमावलीमा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी दलको भनेर नलेखिएको बताएका छन्। उनले सबै दलका निर्वाचित जनप्रतिनिधिको साझा थलोको रुपमा प्रतिनिधिसभा रहेको उल्लेख गरे।
‘डाक्टरले बिरामी जाँच्न छोड्यो भने के होला? शिक्षकले पढाउन छोड्यो भने विद्यार्थीको हालत के होला रु कर्मचारीले काम गर्न छोडे राज्यको हालत के होला ? अनि संसद् अवरुद्ध गरियो भने जनता समस्याहरु कहाँ गएर प्रकट गर्ने?,’ उनले भने, ‘त्यसकारण प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छौँ, तपाईहरुले सदन रोक्नुभएकै हो, कृपया सदन नरोकेर आफ्ना भनाईहरु सदन राख्न अनुरोध गर्न चाहन्छु।’
सांसद पौडेलले सरकारले अहिले गरिरहेको छानबिन नसकीकन अर्को छानबिन गर्न आवश्यक नभएको बताए ।











