सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ : एमाले
एमाले सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए।
काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने अडान दोहो¥याएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयामा बोल्दै एमाले सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए।
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी उनले गरे। छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरे। उनले संसदले छानबिन समिति बनाउनु हुन्न भनेर भन्छ भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुने पनि उनले बताए।
सचिव भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे। उनले भने, ‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन?, गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ?’
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठनमै भट्टराईले बताए।
‘सुन तस्करीका घटना भएको अहिलेमात्रै होइन, विगतमै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको र त्यसमा उच्चस्तरीय नेताहरू समेतको संलग्नता छ भनेर प्रहरीले प्रतिवेदन दिएको थियो । हुन त सुशासनको बारेमा, भ्रष्टाचार नियन्त्रणको विषयमा प्रतिबद्धता जनाइरहनुभएको थियो,’ उनले भने, ‘तर उहाँकै अगाडि टेबलमा भएको त्यो सुन तस्करीको फाइलबारे उहाँले निर्देशन नदिँदा हामीलाई शंका लागेको हो । त्यहीकारण हामीले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भनेर प्रस्ताव गरेका हौँ।’











