नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।
चितवन, साउन २३ : बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। दुई ठाँउको पहिरो पन्छाएपछि ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।
मंगलबार बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो।
दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए।
सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन्। नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो।











