संसद्को अवरोध हटाउन बालुवाटारमा शीर्ष नेताहरु छलफलमा
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी छन्।
काठमाडौं, साउन २३ : लामो समयदेखि संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी छन्। बैठकमा दलका प्रमुख सचेतकहरुसमेत सहभागी भएको बताइएको छ।
गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आफ्नै कार्यक्रममा शीर्ष नेताहरुसँग सोमबार २ पटक छलफल गरेका थिए। तर, दुवै बैठक निष्कर्षबिहीन बनेको थियो।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ।
बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा नै छलफल केन्द्रित रहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।
संसद बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। त्यसअघि सहमति खोज्ने प्रयासस्वरुप दलहरु छलफलमा जुटेका हुन्।











